काठमाडौं, २१ असोज । महिला भलिबलमा नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले मंगोलियालाई ३–२ को सेटमा हरायो ।
नेपालले मंगोलियामाथि १७–२५, २५–१८, २५–२१, १८–२५, १५–१२ को जित दर्ता ग¥यो । जितसंगै नेपाल ११ औं स्थानमा रह्यो ।
महिला भलिबलमा १३ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियाड खेलेको हो ।
गणेश आठौँ
नेपालका गणेश गुरुङ क्यानोइङमा शनिबार आठौँ भए । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको फाइनल चरणमा प्रवेश गरेका गशेण फाइनलमा पुगेका १० खेलाडी मध्ये गणेश आठौ भएका हुन् । शनिबार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए ।
क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जिते । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।
कुस्ती
हाङझाउस्थित लिनान स्पोर्ट्स एन्ड कल्चर एक्जिबिसन सेन्टरमा शनिबार भएको कुस्तीमा नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजित भए । पुरुष फ्रिस्टाइल ८१ केजी तौल समूहको प्रिक्वाटरफाइनलमा राज कम्बोडियाका बाली सोउसँग १०–० ले पराजित भए ।
पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमिनेस्तानका परमान होम्मादोभसँग ११–० ले पछि परे । महिलातर्फ शिवाङ्गी दुवे र सुशिला चन्द पहिलो खेलमै पराजित भएका थिए ।