काठमाडौ, भदौ ५ । नेपालले आज चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको वायुमास ओभलमा शुरु हुनेछ । यही अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामै हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप चारदेशीय टी-२० सिरिज खेल्न लागिएको हो ।
शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।