काठमाडौं, भदौ १७ । मलेसियामा जारी महिला टी–२० विश्वकप अन्तरगत एसियाली छनोटको आफ्नो तेस्रो खेलमा नेपाल विजयी भएको छ । अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका चार खेलाडी शुन्य रनमा आउट भएका थिए । कविता जोशीले ९ तथा सिता रानामगरले ८ रन बनाईन् । भुटानका लागि अन्जुली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिईन् । अन्जु गुरुङ र सोनमले समान १र१ विकेट लिईन् ।
यसअघि मलेसियाको युकेएम वाइएसडी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो । । भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान ११ विकेट लिईन् ।
नेपाल अपराजित यात्राले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ । नेपालले पहिलो खेलमा मलेसियालाइ ५ रनले पराजित गर्दा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गर्यो । बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य नेपालले १७ बलमै पुरा गर्यो । नेपालले भोलि कतारसग र बुधबार युएइसग खेल्नेछ ।
प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् । प्रतियोगिताको सेमिफाइनल खेल भदौ २१ गते र फाइनल खेल २२ गते हुनेछ ।