काठमाडौ, भदौ १७ । मलेसियामा जारी महिला टी–२० विश्वकप अन्तरगत एसियाली छनोटको तेस्रो खेलमा नेपालले अहिले भुटान विरुद्ध खेलिरहेको छ । मलेसियाको युकेएम वाइएसडी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो ।
नेपाल लगातार तेस्रो जितको खोजिमा रहेको छ । नेपाल अपराजित यात्रा कायम राखि सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाइ ५ रनले पराजित गर्दा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गर्यो । बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य नेपालले १७ बलमै पुरा गर्यो । नेपालले भोलि कतारसग र बुधबार युएइसग खेल्नेछ ।
प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् । प्रतियोगिताको सेमिफाइनल खेल भदौ २१ गते र फाइनल खेल २२ गते हुनेछ ।