काठमाडौं, १४ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वार्टारफाइनलमा प्रवेश गरेको छ। नेपाली समय अनुसारआइतबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । जितका लागि २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भयो ।माल्दिभ्सका घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे। माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए।
बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए। उनले ३.४ ओभरमा ११ रन खर्चिए। बोहरा दुइ पटक नै ह्याट्रिक विकेट लिनबाट चुके । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले समान एक एक विकेट लिए। नेपालको इनिङका लागि लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले २७ बलमा समान ३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे। रोहित आफ्नै गल्तीले रनआउट भएका थिए । गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन बटुले। कुशल मल्लले नटआउट ४७ रन बनाए। मल्लले २० बलमा ३ चौका र ३ छक्का प्रहार गरे। नेपालका ओपनर कुशल भुर्तेलले ३५ र आसिफ शेख ६ रनमा आउट भएका थिए। विनोद भण्डारी १३, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी ६ रन जोडे । बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिए ।
समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो।