काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको भाउ बढाएर पठाएको छ । पछिल्लो मुल्य अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगमले जनाएको छ ।
इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । स्रोतका अनुसार मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ । विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो । हाल निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ ।