२१ माघ, काठमाडौं । नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा पराजय बेहोरेको छ ।
शुक्रबार ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
खेलमा बंगलादेशका शाहिदा अक्तर रिपाले दुई गोल र मस्ट अक्लिमा खातुनले एक गोल गरिन् । नेपालका मनमाया दमाइले एक गोल फर्काईन् । शुक्रबारनै भएको दोस्रो खेलमा भारतले भुटानलाई १२–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान सहभागि छन् ।
खेल तालिका अनुसार नेपालले दोस्रो खेल आइतबार भुटानसँग र अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइलन खेल माघ २६ गते हुनेछ ।