२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा देखिएको विवाद चाडै समाधान हुने बताएका छन् ।
शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा समस्या समाधान हुने गरी कुरा भैरहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुनः गृह मन्त्रालय दिन माग गरिरहेपनि प्रचण्डले रविलाई गृह मन्त्रालय दिन चाहेका छैनन् । नेकपा माओवादी पनि रविलाई गृहमन्त्री दिन नहुने लाइनमा छ ।
नेकपा एमाले र केपी शर्मा ओली भने गठवन्धनमा पहिलेकै सहमति अनुरुप रविलाई गृह दिनुपर्ने बताउँदै आएकाछन् । यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । बिहीबारको बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिने निर्णय गरेको थियो, जुन शनिवार सकिँदैछ ।