काठमाडौं, २२ माघः आफ्नो फेसबुकमा एक पोष्ट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेश पछि उपप्रधान तथा गृहमन्त्रीबाट हट्नु परेपछि रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीमा तनाव देखिएको छ ।
काठमाडौं जिल्ला अदालतबाट नागरिकता कायम गरेपछि फेरी पनि उपप्रधान सहित गृहमा फर्कने रविको चाहनालाई प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेका छन् । पासपोर्टको छानविन बाँकी नै रहेका बेला स्वार्थ बाझिने गरि गृह मन्त्रालय दिन नहुने आम माओवादी पार्टीका कार्यकर्ताहरुको पनि माग छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओली भने गठवन्धनको समयमा भएको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै रविलाई साथ दिदै आएका छन् । शनिवार प्रधानमन्त्री तथा एमाले अध्यक्षको बालुवाटाको भेटमा समेत रविको विषयमा धेरैवेर कुरा भएको स्रोतको भनाई छ ।
सरकारमा बस्ने वा सरकारबाट फिर्ता हुने विषयमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले निर्णय गर्नेछ । अहिले अर्को मन्त्रालय लिएर भएपनि सरकारमै रहनुपर्ने र सरकार बाहिरै रहेर पार्टी निर्माणमा लाग्नुपर्ने दुई थरी मत रास्वपा भित्र छ । पार्टीको बैठक लगत्तै पत्रकार सम्मेलन गर्ने बताँउदै रविले फेसबुकमा लेखेका छन् ः पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।