२५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज प्रदेशसभावाट विश्वासको मत लिने छन् । दिउँसो बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
केन्द्रीय सत्ता गठवन्धकै दलहरु नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
रेशम चौधरीलगायतका जेलबन्दीको रिहाइको माग गर्दै आएको नाउपाले माग सम्बोधन नभएका कारण विश्वासको मत दिन नसकिने बताउदै आएको छ । मुख्यमन्त्री रावललाई नाउपाले विश्वासको मत नदिएमा सुदूरपश्चिममा उनी नेतृत्वको सरकार संकटमा पर्नेछ ।
रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ जना प्रदेश सभा सदस्यको समर्थनमा २७ पुसमा मुख्यमन्त्री भएका थिए ।