शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । शुक्रबार नै सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि माघ २० गतेसम्म सरोकारवालाहरुसँग सुझाव मागेको थियो । सरोकारवालाहरुबाट सबै सुझाव आइसकेकोले मौद्रिक नीतिको समीक्षाको लागि राष्ट्र बैंक जुटेको छ ।
व्यवसायीहरुले तरलता सहज बनाउने र महँगिएको ब्याजदरलाई घटाउने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन् । अहिले ब्याजदर अत्याधिक महँगो भएको हुँदा त्यसले व्यवसायीलाई समस्यामा परेकोले ब्याजदर घटाउने नीति लिनुपर्ने सुझाव दिएका छन् ।
शेयर बजारका लगानीकर्ताले भने शेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँको सिमा हटाउनुपर्ने, जोखम भार घटाउनुपर्ने सुझाव दिएका छन् । यी सुझावमा राष्ट्र बैंक सकारात्मक देखिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले समेत अर्थतन्त्रमा सुधार हुँदै गएकोले अफ्ठयारो अवस्थामा लिइएका नीतिहरुलाई विस्तारै परिवर्तन गर्दै जान सकिने बताउदै आएका छन् । मौद्रीक नीतिको दोस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंक सकारात्मक बन्ने व्यवसायी तथा शेयरबजारका लगानीकर्ताको आशा छ ।