काठमाडौँ, ३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको छ ।
यो जितसँगै स्कटल्याण्ड सात टोली सहभागी लिग टू मा ३३ खेलमा ४८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहदै आगामी जुनमा जिम्बाबेमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउन सफल भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेट पुरा गर्यो । स्कटल्याण्डका जर्जि मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय पारी खेले भले कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन जोडे ।
यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट हुदैं १ सय ५३ रन बनाएको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रन , बेर्नाड स्कोल्टेजले ३० रन जोडे । जान ग्रिनले २५ रन र प्रिन्कि फ्रान्सले ११ रन जोडे ।
कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शुन्य रनमा पेभिलियन फर्किए ।स्कटल्याण्डका लागि मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३-३ विकेट लिए ।मंगलबार नेपालसँग पराजित नामिबियाको स्कटल्याण्डसँग लगातार दोस्रो हार हो ।
प्रतियोगिताको अंक तालिकामा नामिबिया ३२ खेलमा ३७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपाल २५ खेलमा २० अंकका साथ छैठौं स्थानमा छ । ओमान ३६ खेलमा ४४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताको शिर्ष ३ टोलीले एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउने छन् ।
मंगलबारबाट सुरु त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । सिरिज अन्तर्गत नेपालले दोस्रो खेल स्कटल्याण्डसँग फागुन ५ गते, नामिबियासँग फागुन ६ गते र स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।