नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवशायी अर्थात मर्चेन्ट बैंकरको लाईसेन्स प्रदान गरेको छ । पुँजी बजारका सकृय लगानीकर्ताहरु र गैरआवासिय नेपालीहरुको लगानीमा स्थापित संस्थाले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधवार एक समारोहका बिच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गर्नुभयो । क्यापिटलले आगामी साता औपचारिक उदघाटन गरी कारोवार शुरु गर्ने जनाएको छ ।
एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ । २२ करोड ५० लाख पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पुरा गरेर निकट भविष्यमै प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटल र म्यूचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
हाल संचालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरहरुमध्ये यो पछिल्लोपटक स्थापना भएको मर्चेन्ट बैंकर हो । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाईसेन्स दिएको थिएन । संचालनमा रहेका मर्चेन्ट बैंकरहरुमध्ये झण्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गैसकेका वा जाने क्रममा छ । नेपालमा मर्चेन्ट बैंकरको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा एलिट क्यापिटलले पूर्ण व्यवशायीक सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।